डा. सन्देश लम्साल फाउन्डेशन समाज कल्याण परिषद्मा दर्ता
डा. सन्देश लम्साल फाउन्डेशन नेपाल सरकार अन्तर्गत समाज कल्याण परिषद्मा आधिकारिक रूपमा दर्ता भएको छ। समाजसेवाका क्षेत्रमा नयाँ अध्याय प्रारम्भ गर्ने उद्देश्यका साथ स्थापित यस संस्थाले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, र सामाजिक सशक्तिकरणका क्षेत्रमा कार्य गर्नेछ।
सामाजिक सेवामा समर्पित संस्था
सन् २०२५ मा दाङ जिल्लामा स्थापना भएको डा. सन्देश लम्साल फाउन्डेशन एक स्वतन्त्र, गैर-लाभकारी, गैर-राजनीतिक, र गैर-सरकारी संस्था हो। यस संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
फाउन्डेशनका अध्यक्ष श्री गणेश लम्साल संस्थाको अभिभावकीय नेतृत्व गर्दै समाजसेवाका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउनु हुनेछ। उहाँलाई उपाध्यक्ष श्री डम्मर वहादुर डाँगीले सहयोग गर्दै संस्थाका गतिविधिहरु सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्नुहुनेछ। सचिव श्री दिनेश चौधरीले संस्थाको प्रशासनिक तथा नीति निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ, भने कोषाध्यक्ष श्री रण बहादुर चौधरीले संस्थाको वित्तीय पारदर्शिता र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुहुनेछ।
सदस्यहरूमा श्रीमती सविता उपाध्याय, श्री प्रेम बहादुर नेपाली, र श्री प्रमोद न्यौपाने रहनुभएको छ, जसले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, तथा सामाजिक सशक्तिकरणका क्षेत्रमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ। कुनै पनि संस्थाको लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सदस्यहरूको समर्पण महत्वपूर्ण हुने गर्दछ।
यस फाउन्डेशनको मुख्य लक्ष्य पाँच प्रमुख स्तम्भहरूमा आधारित छ:
१. स्वास्थ्य सेवा: दुर्गम क्षेत्रका नागरिकहरूलाई निःशुल्क तथा सुलभ चिकित्सा सेवा प्रदान गर्ने।
२. शिक्षा क्षेत्रको प्रवर्द्धन: विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र सीप विकासका अवसर उपलब्ध गराउन पहल गर्ने।
३. पर्यावरण संरक्षण: दिगो विकासको लागि वृक्षारोपण, सफाइ अभियान, तथा वातावरणीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
४. सामाजिक सशक्तिकरण: सीमान्तकृत तथा उपेक्षित समुदायहरूलाई सहयोग गर्दै उनीहरूको हकअधिकारको वकालत गर्ने।
५. समाज कल्याण: असहाय वालवालिका, अपांङ्ग, अनाथ, पिछडियका वर्गहरुलाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न पहल गर्ने।
समुदायप्रति दायित्व र आगामी योजना
फाउन्डेशनले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य सेवामा केन्द्रित गर्ने अध्यक्ष गणेश लम्सालले जानकारी गराउनुभयो। नेपालका ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन र औषधि वितरण गर्ने यस फाउन्डेशनका योजना रहेका छन्।
शिक्षाको क्षेत्रमा फाउन्डेशनले स्थानीय विद्यालयहरूसँग सहकार्य गरी छात्रवृत्ति कार्यक्रम, पुस्तक तथा शैक्षिक सामग्री वितरण, र सीप विकाससम्बन्धी तालिमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।
यसबाहेक, वातावरण संरक्षणका लागि वृक्षारोपण, जलस्रोत संरक्षण, तथा प्लास्टिक न्यूनिकरण अभियान सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।
सामाजिक सशक्तिकरणको लागि फाउन्डेशन विविध अभियानहरू मार्फत सीमान्तकृत समुदायहरूलाई मुख्यधारमा ल्याउने उद्देश्यका साथ अगाडि बढ्ने अध्यक्ष लम्सालले बताउनुभयो।
सहयोग र सहभागिताको आह्वान
डा. सन्देश लम्साल फाउन्डेशनले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको र संस्थाले इच्छुक व्यक्तिहरूलाई आफ्नो अभियानमा सहभागी हुन, सहयोग तथा सहकार्य गर्न आमन्त्रण समेत गरेको छ।
अधिक जानकारीका लागि फाउन्डेशनको आधिकारिक वेबसाइट www.dslf.org.np तथा इमेल contact@dslf.org.np मार्फत सम्पर्क गर्न सकिनेछ।
समाजसेवाको क्षेत्रमा नयाँ सम्भावना खोज्न तथा समृद्ध भविष्य निर्माण गर्न सबैको सहकार्य आवश्यक रहेको फाउन्डेशनका सचिव श्री दिनेश चौधरीले बताउनुभयो।